कोशी करिडोर प्रसारणलाइन आयोजना सम्पन्न

२० आश्विन २०७८, बुधबार १६:४९

काठमाडौं ।

काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्रतार तान्ने काम सकिएको छ ।

नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्वारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम गरी आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारणलाइन निर्माण सम्पन्न भएको घोषणा गरियो ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैकमार्फत दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोशी करिडोर प्रसारणलाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ० देखि बसन्तपुरसम्म करिब १००० मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाटविद्युत प्रसारण गर्न सकिन्छ । साथै एक नम्बर प्रदेशका जिल्लाहरुमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ ।

कार्यक्रममा एक्जिम बैकका प्रतिनिधि विश्वजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए ।

कोशी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिंदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहककोसम्म पुर्याउन पूर्वाधार तयार भएको बताए ।

प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए ।

नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताए ।

धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोशी करिडोरको निर्माणबाट पुष्टि भएको बताए । उनले अब प्राधिकरण जनतालाई विद्युत जाँदैन भन्ने सुनिश्चित गर्नतर्फ केन्द्रित हुनु सुझाव दिए ।

प्रधिकरणले कोशी कोरिडोरमा निकी तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत आयोजनाहरुको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर आयोजनाहरुवाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्वन्धित सवस्टेशनहरुमा २२० के.भी. लाईन बे तथा पावर ट्रान्सफरमरहरुको क्षमता विस्तार गर्ने योजना बनाएको छ ।

आयोजनाको प्रथम चरणको कार्यको लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात दोस्रो सर्किट तार तान्ने र सम्वन्धित सवस्टेशनहरुको क्षमता विस्तारको लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकार मार्फत नेपाल विद्युत प्राधिकरणलाई लगानी जुटाई दिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यस पछी सिर्जित बन्दाबन्दीले आयोजना प्रभावित भएको थियो । यस प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरणहरु र प्राविधिकहरु कोरोना महामारीको कारणले पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको थियो ।

प्रसारण आयोजना तीन वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन वटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने छ ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्याकेज १को निर्माण भएको छ भने २ र ३ को क्रमश ८० ७० प्रतिशत निर्माण सकिएको छ ।