
एजेन्सी ।
जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमवार संसद्को बहुमत प्राप्त गरी पदमा बस्ने औपचारिकता पाएका छन् ।
सोमवार उनले मन्त्रिपरिषद्का सदस्यहरूको नाम पनि सार्वजनिक गरेका छन् । मन्त्रिमण्डलमा पुराना र नयाँ दुवैथरी अनुहार परेका छन् ।
हिरोशिमाको राजनीतिक परिवारका सदस्य मृदुभाषी किशिदाले तारो कोनोलाई पछि पारेर गत साता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व हात पारेका थिए ।
सोमवार उनले संसदबाट सहजै बहुमत हासिल गरे ।
बहुमत पाएपछि किशिदाले सांसदहरूका अगाडि झुकेर अभिवादन गरेका थिए ।
पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सही अर्थमा नयाँ आरम्भ हुनेछ । म दृढ इच्छाशक्तिका साथ चुनौतीहरू लिन चाहन्छु र भविष्यको सामना गर्नका लागि दह्रो संकल्प गर्दछु ।’
किशिदा मध्यमार्गी नेता हुन् र उनले आफ्नो दलको गुटको पूर्ण समर्थन पाएका छन् । उनले सरकारको वर्तमान नीतिलाई निरन्तरता दिने अपेक्षा छ ।
