तालिबानले अफगानिस्तानमा कब्जा गरेलगत्तै १३ जनाको हत्या गरेको खुलासा

१९ आश्विन २०७८, मंगलवार १६:४०

एजेन्सी ।

तालिबानले अफगानिस्तानमा कब्जा गरेलगत्तै देशको मध्यभागमा रहेको दायकुंडी प्रान्तमा हजारा समुदायका १३ जनाको हत्या गरेको खुलासा भएको छ ।

मर्नेहरूमा १७ वर्षीया एक किशोरी पनि थिइन् ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको रिपोर्टमा यो खुलासा भएको हो ।

गत अगस्ट ३० मा लगभग ३०० तालिबान लडाकूले खिद्र जिल्लामा अफगान सुरक्षा फौजमा रहेका हजाराहरूको हत्या गरेको रिपोर्टमा उल्लेख छ ।

मंगलवार प्रकाशित रिपोर्टअनुसार, सुरक्षाफौजका मानिसलाई नदीको किनारमा लगियो । उनीहरूले आत्मसमर्पण गरे पनि हत्या गरियो ।

मारिएका सैनिकहरूको उमेर २६ देखि ४६ वर्ष छ । गोलीकाण्डमा अर्का एक आम नागरिक फयाजको पनि मृत्यु भएको छ ।

हजारा समुदायका विरुद्ध तालिबानले पहिला पनि रक्तरञ्जित दमन गरेको थियो । गत जुलाई महिनामा पनि तालिबानले गजनी प्रान्तमा हजारा समुदायका कम्तीमा नौजनाको हत्या गरेको थियो ।

हजाराहरू शिया समुदायका भएकाले कट्टर सुन्नी तालिबानले उनीहरूको हत्या गरेका हुन् ।

देशको तेस्रो ठूलो समुदायका रूपमा रहेको हजारासँग एक शताब्दीदेखि भेदभाव गरिँदै आएको छ । हजाराहरू मंगोल वंशका सन्तान भएको मान्यता छ ।