सापटी फिर्ता नगर्दा ऋणीको श्रीमतीलाई बन्धक बनाउने पक्राउ

१७ आश्विन २०७८, आईतवार १७:२८

                                              फाईल तस्बिर

काठमाडौं । सापटी दिएको रकम फिर्ता नगरेको आरोपमा एक व्यक्तिले ऋणीको श्रीमतीलाई बन्धक बनाएका छन् ।

सापटी फिर्ता नगरेको अभियोगमा अर्काकी श्रीमती बन्धक बनाएको आरोपमा भक्तपुरका धिरज श्रेष्ठ पक्राउ परेको महानगरीय अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी चन्द्रकुवेर खापुङले आयोखबरलाई बताए ।

उनका अनुसार तीन वर्षअघि श्रेष्ठले निर्माण बोम्जनलाई ५ लाख रुपैयाँ दिएका थिए। तर हालसम्म फिर्ता नगरेपछि श्रीमती चमेलीमाया स्याङताङलाई बन्धक बनाएका थिए ।

‘तीन दिनपछि प्रहरीलाई खबर भयो र हाम्रो टोलीले स्याङताङलाई उद्दार गरेको छ’ एसएसपी खापुङले भने, ‘लेनदेनको विषयसँग प्रहरीलाई सरोकार भएन, बन्धक बनाएको कसूरमा मुद्दा चल्छ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार श्रीमती बन्धक बनाएपछि श्रेष्ठले ‘पैसा दे, श्रीमती लैजा’ भन्दै ऋण लैजाने व्यक्तिलाई खबर गरेका थिए । थप अनुसन्धान भइरहेको छ ।