लोसपा परित्याग गरेर राजकुमार लेखी नेकपा एमाले प्रवेश

१७ आश्विन २०७८, आईतवार १६:२२

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।

गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गरेका हुन् । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्‍भावना पार्टीसँग एकता गरे । त्यसयता मधेस केन्द्रित दलमा रहे ।

पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए । एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।