चिरञ्जीवी वाग्लेका छोराको राजनीतिमा इन्ट्री , जिते गोरखाबाट महाधिवेशन प्रतिनिधि

१७ आश्विन २०७८, आईतवार ११:४१

काठमाडौं । नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेका छोरा देवेन्द्र वाग्ले कांग्रेसको राजनीतिमा सक्रिय भएका छन्।

गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि जितेका छन्।

आज बिहान सकिएको मतगणनाअनुसार गोरखा बुंकोट घर भएका वाग्ले महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। महाधिवेशन प्रतिनिधि खुल्लातर्फ १० जनामा भएको चुनावमा देवेन्द्रले ६७१ मत ल्याएर चौथो नम्बरमा विजयी भएका हुन्।

आफू पहिलेदेखि नै पार्टीमा काम गरिरहेको र अब झन् क्रियाशील रहने देवेन्द्रले सेतोपाटीलाई बताए। उनी चिरञ्जीवीका एक्ला छोरा हुन्।

उनले जिल्ला कार्यसमिति वा अन्यत्र उम्मेदवारी दिनेबारे पछि निर्णय गर्ने बताए। कांग्रेस गोरखाले असोज १८ मा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ।

‘माथिमाथि उम्मेदवारी दिनेबारे अहिले केही सोचेको छैन। हतार पनि छैन, परिस्थिति कस्तो बन्छ,’ उनले भने, ‘समय छ, हतारमा निर्णय गर्नुपर्ने छैन।’

चिरञ्जीवी वाग्ले यसपालि महाधिवेशन प्रतिनिधि उठेनन्। पहिलेका अधिवेशनमा वाग्लेले धेरै मत ल्याएका थिए। वाग्ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि कांग्रेसको केन्द्रीय राजनीतिमा ओझेल परेका थिए।

यसपालि भने जिल्ला सचिव रहेका नन्दप्रसाद न्यौपानेले सबैभन्दा धेरै मत ८८०, राजेन्द्र बजगाईंले ७४२, धिरन थापाले ७११, राजनराज पन्तले ६२३, प्रेमकुमार खत्रीले ५८५, पूर्णबहादुर दाहालले ५४७, किरणबाबु श्रेष्ठले ५२६, ईश्वर पाण्डेले ४७२, चेतबहादुर अधिकारीले ४१३ मतसहित महाधिवेशन प्रतिनिधि जितेका छन्।

एक प्रतिनिधि सभा क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ। कांग्रेसले प्रतिनिधि सभा क्षेत्र १ र २ को चुनाव गोरखा सदरमुकाममा गरेको थियो। क्षेत्र नम्बर २ को नतिजा भने आइसकेको छैन।