
चीनको सबैभन्दा ठूलोमध्येको एक चाइना एभरग्राण्ड ग्रुपका संस्थापक हुई का यानको सम्पत्ति एकताका साढे ४२ अर्ब डलर पुगेको थियो जसले उनलाई एसियाकै सबैभन्दा धनाढ्य बनाइदियो। तर हाल उनको त्यो सम्पत्तिको ७३ प्रतिशत हिस्सा बाफ जस्तै उडिसकेको छ र रियल स्टेट टाइकुन मानिएका हुई का यान यतिबेला आफ्ना सबै अफिसहरु बन्द गरेर टाट उल्टिएको घोषणा गर्ने अवस्थामा पुगेका छन् किनभने अब उनीसँग ऋणदाता, आपूर्तिकर्ता र घर खरिदकर्ताहरुको रकम चुक्ता गर्ने हैसियत छैन।
रियल स्टेट डेभलपर हुई का यानको कुल दायित्व ३०५ अर्ब डलरभन्दा माथि पुगिसकेको छ । कम्पनीसँग अब नगद र सम्पत्ति गरी जम्मा साढे १३ अर्ब डलर रहेको बताइन्छ। एभरग्राण्डले बैंकहरुमात्र नभई बिभिन्न ट्रस्ट तथा बण्डहोल्डरहरुबाट पनि प्रशस्तै ऋण लिएको छ। यति मात्र नभई आफ्नै कर्मचारी तथा समाजका बिभिन्न निकाय र सर्वसाधारणहरुलाई समेत उनले बाँकी राखेका छैनन्।
स्थानीय वित्तीय जर्नल काइसिनका अनुसार कम्पनीको ब्यालेन्स सिटमा उल्लेख नै नगरी ६ अर्ब २० करोड डलरको अतिरिक्त ऋण समेत लिएको देखिएको छ। यसरी कम्पनीलाई ऋण दिनेमा पूर्वी जियानसु प्रान्तकी लिज पनि हुन् जो सरकारी निकायमा काम गर्छिन्।
३५ वर्षकी लिज भन्छिन्- ‘एभरग्राण्ड विश्वकै ठूलो कम्पनीहरुमध्ये पर्छ। र मेरो त्यहाँ काम गर्ने साथीले त्यसमा ७७ हजार डलर लगानी गरेकी थिइन्। साथीले मलाई पनि त्यहाँ लगानी गरे फाइदा हुने तथा केही समस्या हुँदैन भनिन्।’ कम्पनी फर्चुन ५०० अन्तर्गतको कम्पनी भएकाले पनि लिज आफ्नो पैसा सुरक्षित हुनेमा ढुक्क थिइन्।
लिजले कम्पनीबाट बिगतका वर्षमा बिभिन्न किसिमका स्किम अनुसारको वेल्थ म्यानेजमेन्ट प्रोडक्ट किनेकी थिइन् जसकालागि कम्पनीले वार्षिक साढे सात प्रतिशत रिटर्न दिने बताएको थियो।
एभरग्राण्डले उनको लगानीलाई कम्पनीका लागि भवन तथा विद्युतीय सवारी उत्पादनको क्षेत्रमा लगानी बिस्तारका लागि प्रयोग गर्ने बताएको थियो।
तर अब अवस्था निकै फरक भैसकेको छ। कम्पनीको विद्युतीय सवारीको युनिट स्रोतको गम्भीर सर्टेजको अवस्थामा पुगिसकेको छ। कम्पनीको इभी युनिटले हाल आफ्नो संचालन खर्च नै थेग्न नसक्ने अवस्थामा पुगिसकेको बताइएको छ।
लिजका अनुसार उनले गत एक वर्ष त आफ्नो लगानीको केही प्रतिशत रकम ब्याजका रुपमा फिर्ता पाएकी थिइन्। तर अब आगामी जनवरीमा पाउनुपर्ने रकम भने फेरि कहिल्यै पाउन नसक्ने हो कि भनेर उनी चिन्तामा छिन्।
हाल चीनका वित्तीय नियामकहरुले एभरग्राण्डको वेल्थ म्यानेजमेन्ट युनिटमाथि अनुसन्धान गरिरहेको छ। लिज पनि अन्य हजारौं लगानीकर्ताहरुले जस्तै एभरग्राण्डका विषयमा सरकारले दिने सूचना वा आगामी निर्देशन पर्खिरहेकी छिन्।
एभरग्राण्डको संभावित पतनले विश्व बित्त बजार आतंकित छ। लगानीकर्ताहरु एभरग्राण्डको शेयरबाट धमाधम हात झिकिरहेका छन् भने हङकङस्थित शेयर बजारबाट अन्य प्रोपर्टीसम्बन्धित कम्पनीहरुको शेयरहरु पनि धमाधम डम्प गरिरहेका छन्।
चीनको अर्थतन्त्रमा जिडिपीको एक तिहाई योगदान गर्ने रियल स्टेटको बजारमा छाएको अन्यौलताले लगानीकर्ताहरु हतास अवस्थामा छन्।

संस्थापक हुईको हाल व्यक्तिगत सम्पत्ति साढे ११ अर्ब डलर रहेको छ जुन उनले कम्पनीले सन् २००९ मा आइपिओ जारी गरेपछि बिबिध समयमा लिएको ८ अर्ब डलर नगद लाभांशकै बृद्धि मानिन्छ। चाइनिज युनिभर्सिटीका प्रोफेसर जोसेप फानले कम्पनी धरासायी हुनुमा र लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्नुमा संस्थापक हुईलाई नै दोषी देख्छन्।
हङकङमा लिस्टिङ भएको यस कम्पनीले गत हप्तानै तिर्नुपर्ने साढे ८३ अर्ब डलर बराबरको बण्डको ब्याज समेत तिर्न सकेको छैन। बिदेशी लगानीकर्ता र ऋणदाताहरु त हाल कम्पनीको प्राथमिकतामा नै परेको छैन। किनभने सबैभन्दा पहिले हुईले चीनका १५ लाख घर खरिदकर्तालाई उनीहरुले घर किन्नका लागि दिएको अग्रिम रकम भुक्तानीबारे जवाफ दिनुपर्नेछ।
अझै पनि चीनका बिभिन्न स्थानमा कम्पनीका घरहरु निर्माणाधिन अवस्थामा छन्। मध्यमबर्गले कम्पनीका हाउजिङ परियोजनामा ठूलो लगानी गरेका छन् र घर पाउने आशामा बसिरहेका छन् तर ग्वानझाओमा कम्पनीले बनाइरहेको हाउजिङ परियोजनाको काम गत मे मा नै रोकिएको थियो। आक्रोशित लगानीकर्ताहरुले निर्माण सूचारु गर्न प्रदर्शन पनि गरिरहेका छन् भने चीनका बिभिन्न स्थानबाट कम्पनीको घर खरिद गर्न डिपोजिट गरेकाहरुले प्रदर्शन सुरु गरिसकेका छन्। उनीहरुको आक्रोश चुलिँदो छ।
एभरग्राण्डको यो दुरावस्थाले चीनका सर्वसाधारणलाई सरकारले गर्ने संरक्षणको नीति बिपरित गम्भीर संकटको अवस्थामा पुर्याएको छ र एभरग्राण्डको असफलतालाई चीन सरकारको साझा समृद्धि हासिलको बाटोमा लागेको ठेसका रुपमा हेरिएको छ।

उसैपनि बिगत पाँच वर्षमा चीनको राष्ट्रिय अर्थतन्त्रमा सरकारी ऋण र जिडिपी अनुपात ४५ प्रतिशतले बढेको देखिन्छ। यस्तो अवस्थामा सरकार रियल स्टेट क्षेत्रमा कडाईको नीति अख्तियार गरिरहेको छ। चीनका सयौं कम्पनीहरु सरकारी नीति तथा मापदण्डका कारण टाट उल्टिने अवस्थामा पुगेका छन्।
अब देशकै ठूलोमध्ये एक मानिएको एभरग्राण्डलाई प्रत्यक्ष सहयोग गरी टाट उल्टिने अवस्थाबाट जोगाउनु राष्ट्रपति सि जिनपिङको रियल स्टेट क्षेत्रमा लगानी कडाई गर्ने नीति बिपरित हुन जान्छ। तर यदि कम्पनी टाट उल्टिएको खण्डमा यसबाट लाखौं चिनियाँ मध्यमबर्गको घर पाउने सपना चकनाचुर मात्र हुने छैन विश्वकै रियल स्टेट सेक्टरमा सन् २००८ कै जस्तो वित्तीय संकट मडारिने अवस्था आउन सक्ने त्रास पनि उत्तिकै रहेको छ।
विश्लेषकहरुका अनुसार सरकारले अब कम्पनी टाट उल्टिएको अवस्थामा पनि स्थानीय सरकारको स्वामित्वमा रहेका निकायहरुको सहयोगमा बनिनसकेका घरहरु निर्माण सम्पन्न गर्न सक्नेछ वा बैंकले कम्पनीका लागि ऋण बिस्तार गर्ने तथा ऋण तिर्ने भाखा सार्न सक्ने व्यवस्था मिलाएर एभरग्राण्डको पुनर्संरचनामा सघाउन पनि सक्छ।
सरकारी नियामकहरुमा अनुसार कम्पनीको बैंक खातामा बाँकी रकमका आधारमा निर्माण सम्पन्न गर्न बाँकी बिल्डिङ तथा अपार्टमेन्टहरु तयार गर्ने योजना पनि बनाउन सकिने छ। सांघाई एडभान्स इन्स्टिच्यूटका प्रोफेसर झु निङका अनुसार सरकारले यसबारेमा चाँडे समाधानको खाका सार्वजनिक गर्न सक्नेछ।

महत्वाकांक्षाले पुर्यायो पतनको बाटोमा
चीनको सबैभन्दा ठूलो मध्येको मानिने एभरग्राण्ड विश्वकै फर्च्यून ५०० कम्पनी अन्तर्गतकै कम्पनी हो। ग्वान्झाओमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हाल चीनभर १५ लाख युनिटभन्दा बढी हाउजिङ परियोजनाहरु निर्माण गरिरहेको थियो। पछिल्लो समयमा चीन सरकारले लिएको कडा नीतिका कारण रियल स्टेट सेक्टरहरु निकै दवावको सामना गरिरहेका थिए। यस्तो अवस्थामा कम्पनी निकै ठूलो ऋणमा डुबेको सार्वजनिक भएपछि सरकारले कम्पनीको उद्दारका लागि केही गर्ला वा नगर्ला भन्ने सर्वसाधारणको चासोको विषय बनेको छ।
हाल कम्पनीको शेयर मूल्य ८० प्रतिशतभन्दा बढीले तल झरिसकेको छ। हाल कम्पनीले न त आफ्ना कर्मचारीहरुलाई तलब दिन सकेको छ न त ऋणदाताहरुलाई भुक्तानी नै दिन सकेको छ।
विश्वकै ठूलो मानिएको कम्पनीमा संकट उत्पन्न हुनुले विश्वकै अर्थव्यवस्था प्रभावित हुन पुग्छ। सन् २००८ मा अमेरिकाको लेहम्यान ब्रदर्स नामको बित्तीय संस्था डुब्दा विश्वकै अर्थव्यवस्थामा ६ प्रतिशतको गिरावट आएको थियो भने विश्वका करिब ६ करोड मानिस बेरोजगार भएका थिए। त्यसैले पनि एभरग्राण्डको संकटले चीन मात्र नभई विश्व अर्थव्यवस्थालाई पनि प्रभावित पार्ने विश्लेषकहरु बताउँछन्।
सन् २००८ २००९ को मन्दीका समयमा चीन सरकारले देशलाई वित्तीय संकटबाट बाहिर निकाल्न ४० खर्ब युआनको स्टिमुलस प्याकेज ल्याएको थियो। त्यसबेला चीनका रियल स्टेट सेक्टरले कम ब्याजदरमा धेरै ऋण लिएर व्यवसाय अघि बढाउन सफल भए। त्यसबेलादेखि रियल स्टेट सेक्टरमा आएको तीब्र बृद्धिले चीनमा जमीनको मूल्य बढ्न थाल्यो।
हुईको एभरग्राण्ड त्यसबेला सबैभन्दा आक्रामक रुपले अघि बढेको कम्पनी थियो। उसले त्यसबेला यस क्षेत्रमा सबैतिरबाट लगानी लिँदै ठूलो मात्रामा लगानी गर्न थाल्यो। त्यस क्रममा कम्पनीले धेरै भन्दा धेरै ऋण लिएर ब्यापार बिस्तार गरेको थियो।
हुईको महत्वाकांक्षा बढ्दै गयो। उनलाई के विश्वास थियो भने चीनमा रियल स्टेटको क्षेत्रमा तीब्र बृद्धि हुँदै जानेछ। घरको मूल्य बढ्दै जानेछ र उनी ऋणको ब्याज तिरेरपनि निकै धेरै सम्पत्ति कमाउन सक्षम हुनेछन्।
