पाँच छात्रालाई सख्त घाइते बनाई १० मिटर तल खस्यो जिप

१५ आश्विन २०७८, शुक्रबार १५:२५

फाइल तस्बिर

काठमाडौं । सल्यानमा आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् ।

सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ नं. को जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएको जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ ।

शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो ।

दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए ।