केही अघि माटो ल्याएर सडकको खाल्टा भरे अहिले फेरी खाल्टामा पिच

१४ आश्विन २०७८, बिहीबार १७:११

काठमाडौं । सडक डिभिजन कार्यालय सुर्खेतले रत्न राजमार्गको वीरेन्द्रनगर खण्डमा खाल्टाखुल्टी टाल्न थालेको छ । केही अघि माटो ल्याएर खाल्टा भर्ने काम गरेपछि सर्वत्र आलोचना भएको थियो । अहिले भने खाल्टामा पिच गरेरै सडक मर्मतको काम थालिएको हो ।

खाल्टाखुल्टी पुर्ने नाममा लाखौँ रकम खर्च गर्ने तर, माटोले पुर्दा वर्षामा माटो बगेर जस्ताको तस्तै हुने अनि हिउँदमा धुलो उड्ने भन्दै यातायात व्यवसायीले आलोचना गरेका थिए । यसबारे आयोखबरले पनि समाचार प्रकाशित गरेको थियो ।

कर्णाली प्रदेशका लागि ‘लाइफलाइन’का रुपमा रहेको रत्न राजमार्गमा सडक डिभिजनले खाल्टाखुल्टीमा धमाधम कालोपत्रे भर्न थालेको छ । बुलबुले–सुब्बाकुना क्षेत्रको बीचमा पर्ने ९फोरलेन० सडक खण्डका खाल्टाखुल्टीमा कालोपत्रे भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी सजन पोखरेलले गत आर्थिक वर्षकै ठेक्काको बजेटबाट खाल्टाखुल्टी पिच गर्न लागिएको जानकारी दिइन् । उनले आयोखबरसँग भनिन्, ‘नयाँ ठेक्का बुलबुले–बाङ्गेसिमलका लागि हुन्छ । बाँकी हर्रे–सुब्बाकुना खण्डमा नाली लगायतका काम गरिने छ ।’

पोखरेलका अनुसार हर्रे–बाङ्गेसिमलसम्म खाल्टाखुल्टी पुर्न र नाली बनाउन ४४ लाख बजेट छुट्याइएको छ । सो कामको जिम्मा प्रवीण निर्माण सेवा कम्पनीले लिएको छ ।