माओवादी छाडेर एमाले प्रवेश गर्दै पोलिटब्युरो सदस्य रोकाया

१४ आश्विन २०७८, बिहीबार १६:१८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए ।

रोकायाले आफू नेकपा ९एमाले० मा फर्कने तयारीमा रहेको पनि बताए । एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायाले भने–‘कम्युनिष्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिएपनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’

देश जनता र कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पुर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरुले गम्भिर भएर सोच्ने दिन आएको उनको भनाई थियो ।
उनले आफूले २३ वर्षसम्म नेकपा ९एमाले० मा रहेर काम गरेको स्मरण गराए । तर, २०७० सालमा एमाले परित्याग गरेर उनी २०७१ मा तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरेका थिए ।