श्रीमतीको हत्या आरोपित अर्घाखाँचीका १ पक्राउ

१३ आश्विन २०७८, बुधबार १५:३६

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा श्रीमानले लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका विष्णु विकले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाअनुसार मंगलवार राती खाँचीकोटमा दुवैजनाले सँगै बसेर मदिरा पिएका थिए । त्यहीबेला उनीहरुबीच झगडा भएको थियो ।

मदिरा पिएका बेला विष्णुले सीतामाथि लठ्ठी प्रहार गरेर हत्या गरेको प्रहरी निरिक्षक सुजन विक्रम शाहले बताए । हत्या गरेको आरोपमा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।