एकमात्र महिला सभापति चयन: काँग्रेसको १४ औँ महाधिवेशन

१३ आश्विन २०७८, बुधबार १३:४६

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कर्णालीका ६० वटा स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयन भएको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीका डोल्पा र सुर्खेत जिल्लाका बाहेक अन्य जिल्लाका ६१ पालिकामा अधिवेशन गरिएको थियो ।

जाजरकोटको कुशे गाउँपालिकामा दुई पक्षबीचको विवादका कारण अधिवेशन स्थगित भएको छ भने ६० पालिकामा काँग्रेसको नेतृत्व चयन भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै अधिकांश पालिकामा प्रतिस्पर्धा भएको थियो ।

कालिकोट, रुकुम पश्चिमसहित केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएकाले धेरैजसो पालिकाका सभापतिको खेमा स्पष्ट हुन सकेको छैन ।

हुम्लामा काँग्रेस नेता जीवनबहादुर शाहीको प्रभावका कारण पौडेल पक्ष कमजोर देखिएको छ । दैलेख, सल्यान, जुम्ला, जाजरकोट, मुगु जिल्लामा पौडेल पक्ष नै अगाडि देखिएको छ ।

समग्रमा अघिल्लो पटक कर्णालीमा वर्चश्व राखेको पौडेल पक्षले नै यो पटक पनि कर्णालीका पालिकास्तरमा आफ्नो पकड कायम राखेको छ । पालिका अधिवेशन सकिएसँगै अब जिल्ला अधिवेशनतिर सबैको ध्यान केन्द्रित हुन थालेको छ ।

वडा तहको निर्वाचनमा महिला र युवाहरुको सहभागिता उल्लेख्य देखिए पनि पालिकाको निर्वाचनमा भने महिलाको उपस्थिति अत्यन्त न्यून छ । ६० स्थानीय तहमा अधिवेशन भएकोमा कालिकोटको पलाता गाउँपालिकाको नेतृत्वमा धीरा बम एकमात्र महिला सभापतिका रुपमा चयन भएकी छन् ।