मौलिक जरोकिलो पार्टीको महाधिवेशन माघमा हुने

११ आश्विन २०७८, सोमबार २०:३७

मन्जिल कन्दङवा
काठमाडौं ।
मौलिक जरोकिलो पार्टीको दोश्रो महाधिवेशन आउँदो माघ महिनाको २०, २१ र २२ गते हुने भएको छ । काठमाडौंको लप्सीफेदिस्थित जेपी प्रतिष्ठानमा बसेको पार्टीको केन्द्रिय समितिको तेश्रो बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

असोज ९ गतेदेखि ११ गतेसम्म बसेको बैठकमा पार्टीले देशको समसामयिक राजतिनिक विषयको समिक्षा गरेको छ । उक्त बैठकमा पार्टीका केन्द्रिय अध्यक्ष सुशील गौतमले राष्ट्रियता, संघीयता, धर्मनिरपेक्षताको सम्बन्धमा पार्टीको आधिकारिक धारणा स्पष्ट पारेका प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा पार्टीका कोषाध्क्ष कृष्णराम प्रजापतिबाट प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको केन्द्रिय सदस्य सुरेश कुमार कामतले जानकारी दिए । पार्टीका केन्द्रिय अध्यक्ष सुशील गौतमले राष्ट्रियता, संघीयता, धर्मनिरपेक्षता आदि समेटेर प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई बृहत छलफल गरी केन्द्रिय समितिले पारित समेत गरेको छ ।

पार्टीको पहिलो महाधिवेशन भने वि.सं. २०७६ माघ १६, १७ र १८ गते साँझा चुलोमा सम्पन्न गरी महाधिवेशनबाट छनोट भई ३९ जना र थप ७ प्रदेश कमिटीका प्रदेश अध्यक्ष गरेर जम्मा ४६ जनाको केन्द्रिय समिति गठन गरेको थियो । पछि अध्यक्ष सुशील गौतमले पार्टीको विधानले दिएको अधिकार प्रयोग गर्दै थप १० जनालाई मनोनित गरेर जम्मा ५६ जनाको केन्द्रिय समिति गठन भएको छ ।