
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो ।
पाठ्यक्रम निर्माणपछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए ।
चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने उल्लेख गर्दै उनले यसै साताभित्र सरोकारवाला व्यक्तिसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिम रुप दिइने बताए ।
कक्षा १ देखि ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रममा स्थानीय १४ विषयवस्तु समावेश गरिएका छन् । नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले दशैंअघि नै पाठ्यक्रमलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने र दशैंपछि कक्षा कोठामा कडाइका साथ कार्यान्वयनमा ल्याउने गरी नगरपालिकाले तयारी गरेको बताए । उनले स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक ढंगले अगाडि बढाइने जानकारी दिए ।
