७३ अंकले घट्यो नेप्से परिसूचक

११ आश्विन २०७८, सोमबार १६:०९

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ७३ अंक माथिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ७३.०५ अंकले घटेर २६ सय ८५.४१ बिन्दुमा झरेको हो । त्यसो त अघिल्लो दिन आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८.४८ विन्दुमा झरेको थियो ।

नेप्सेका अनुसार यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा झरेको छ । यस दिन सबैजसो समूहहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको छ ।

आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित भएको छ ।