विराटनगरमा व्यवसायीमाथि खुकुरी प्रहार

१० आश्विन २०७८, आईतवार १६:३२

काठमाडौं । एक इँटा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार भएको छ । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि उनकै पार्टनर विराटनगर–६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार दिउँसो सावा १ बजेतिर कार्कीले लामालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । उनको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए । पार्टनरसिपको विवाद चर्किँदै गएपछि कार्कीले लामामाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।