पर्यटकका लागि सर्तसहित भिसा खुला

७ आश्विन २०७८, बिहीबार १५:२७

 

काठमाडौं । सरकारले पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो ।

र्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो ।

नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा ९आगमन विन्दुमै भिसा० दिइने छ । यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ । यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य हुनुपर्छ ।

पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्नेछ । पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ ।

सबै विदेशीको अध्यागमन प्रवेश विन्दुमा एन्टिजेन परीक्षण हुने

अब सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण हुने भएको छ । यसरी गरिने परीक्षणमा कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा बस्नुपर्ने छ । अध्यागमन विन्दुमा यस्तो परीक्षण नभएमा भने यात्रुले होटेलमा बसी त्यस्तो परीक्षण वा पीसीआर परीक्षण गर्नुपर्नेछ । यसको नतिजा नेगेटिभ आएपछि भने गन्तव्यमा जान दिइने छ । नेपालमा हुने कोभिड–१९ परीक्षणको शुल्क विदेशी यात्रु स्वयंले तिर्नुपर्ने सर्त राखिएको छ । ट्राभल वा पर्वतारोहणमा आउने पर्यटकको जिम्मा सम्बन्धित पर्यटन एजेन्सीले लिनु पर्नेछ । पर्यटकले तोकिएको आदेश पालना नगरेमा भने प्रहरीको जिम्मा लगाउने सर्त आदेशमा राखिएको छ ।