५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउने

७ आश्विन २०७८, बिहीबार १५:१४

काठमाडौं । विगतका वर्षहरुमा झै यो वर्षको दसैँमा पनि सरकार र व्यापारीले गरेर ५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउने भएका छन् । विगतका वर्षहरूमा भएको खपतलाई मध्यनजरमा राख्दै यो वर्षको दसैँका लागि उक्त सङ्ख्याका खसीबोका ल्याउने भएका हुन् ।

जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने दुई हजार वटा खसीबोका समेत सामेल छन् । योसहित, उपत्यकाको दसैँ माग धान्न ५० हजारभन्दा बढी खसीबोका भित्रिने पशुसेवा विभागले जानकारी दिएको छ ।

सूचना अधिकारी डा. चन्द्र ढकालले खसीबोका बिक्रेता र उत्पादकले यो वर्षको दसैँमा ५० हजारभन्दा बढी खसीबोका खपत हुने जानकारी विभागलाई दिएको बताए ।

विभागले नेपाल व्यावसायिक बाख्रा पालक महासंघ, चौपाया खरिद बिक्री सेवा संघ, बाख्रा पालन महिला सहकारी लगायतका संस्थासँग छलफल गरिसकेको छ । दसैँ लक्षित छलफलले विगतका वर्षहरूमा जस्तै यो वर्षपनि ५० हजार हाराहारीमा खसीबोका खपत हुने निष्कर्ष निस्केको डा. ढकालले आयोखबरलाई बताए ।