पत्रकारलाई लोपार्ने मेयर विवादमा परेसँगै कार्यकक्षमा लाग्यो ताला

७ आश्विन २०७८, बिहीबार १२:१२

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा परेका छन्।

कार्यालयमा सेवा लिन आएका महिलालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भन्दै महिला अधिकारकर्मीले उनीविरुद्ध आन्दोलन थालेका हुन्।

नाराबाजी गर्दै विरोधमा उत्रिएका महिला अधिकारकर्मीहरूले बुधबार मेयर चौधरीको कार्यकक्षमा ताला लगाइदिएका छन्।

मेयर चौधरीले केही दिनअघि कार्यकक्षमै महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको हो ।

सरकारी सेवा लिन गएका बेला मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो’ भनेर अपमान गरेको आरोप छ।

आन्दोलनरत महिलाले बुधबार उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कार्यालय परिसरमा ‘संयुक्त विरोध कार्यक्रम’ गरेका हुन्। उनीहरूले चौधरीलाई कारबाही गर्न माग गरेका छन्। कारबाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

यसअघि पनि उनले पत्रकारको नाक भाँच्न बजेट छुट्याएको तथा महिलालाई नै दुर्व्यवहार गरेको लगायत घटना सार्वजनिक भएका थिए।