पोखरामा ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटपाट

५ आश्विन २०७८, मंगलवार १२:३९

काठमाडौं । पोखरामा महिलालाई घाइते बनाएर सुन लुटिएको छ । पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर कानमा लगाएको १ तोलाको सुनको मुन्द्रा लुटिएको हो ।

उनका श्रीमान् धनमान गुरुङका अनुसार घरबाट करिब एक सय मिटरको दुरीमा रहेको बारीमा घाँस काट्न गएकी मरियमको छातीमा ढुङ्गाले प्रहार गरी बेहोस बनाइएको थियो ।

मरियमले लुटेराको हातमा चक्कु पनि देखेको बयान दिएको प्रहरीले जनाएको छ । उनले लुटेराले रातोमा सेतो धर्का भएको सर्ट लगाएको बताएकी छन् ।

ढुङ्गा प्रहारबाट बेहोस भएकी मरियमलाई स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।