
काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो ।
समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो ।
तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । समूह विजेता बनेर एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न पनि नेपाललाई आज स्पष्ट जितको आवश्यकता छ ।
समूह विजेता मात्र अर्को वर्षको एसियन कपकमा छनोट हुने भएकोले नेपालको लागि आजको खेल महत्वपूर्ण छ ।
नेपालको राष्ट्रिय महिला फुटबल टिमले ३२ वर्षपछि हङकङसँग खेल्न लागेको हो । सन् १९८६ मा हङकङमै भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ पहिलो खेलमै नेपाल हङकङसँग १(० ले पराजित भएको थियो ।
