
काठमाडौैं । जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो ।
बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए । विसं २०४३ देखि सडक निर्माण सुरुआत भएको बताइएको छ ।
बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलले भने, “वर्षौं पछि सडकको ट्र्याक जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भए, योभन्दा अरु खुसी के नै होला र ।”
बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले अगामी दिनमा सडकको स्तोन्नतिका लागि गाउँपालिकाले लगानी गर्ने बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटकपटक निर्देशन दिएका थिए ।
सो गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भने, “मुख्यमन्त्रीज्यूले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिए, हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो । ”
प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्र्याक जोडिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, “कच्ची ट्र्याक जोडिएको छ, अब कालोपत्रका लागि पहल गर्नुपर्छ ।”
कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।
उनले भने, “कच्ची ट्रयाक जोडिएको छ, यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुने भएको छ ।” उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् ।
