पतिको मृत्यु प्रमाणपत्र बनाउन ११ वर्षदेखि भौतारिँदै, किन ?

३ आश्विन २०७८, आईतवार १५:१०

काठमाडौं । मृत्यु भइसकेका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र सहजै बन्छ । तर एक महिला आफ्ना पतिको मृत्यु प्रमाणपत्र बनाउन ११ वर्षदेखि भौतारिँदैछिन् ।

भारतको राजस्थानस्थित दौसाकी महिला गुलाब देवी पतिको मृत्यु प्रमाणपत्रका लागि सरकारी अधिकारी, मन्त्री, विधायक, पियन सबैलाई भेटिसकेकी छन् तर कतैबाट पनि काम भइरहेको छैन ।

वर्षौंदेखि भौतारिँदा समेत मृत्यु प्रमाणपत्र नमिलेपछि अब ती महिला प्रशासन कार्यालयको गेटमा धर्नामा बसेकी छन् । पीडित महिलासँग अन्य व्यक्ति समेत धर्नामा बसेका छन् ।

पीडितका पति जयराम मीणाको सन् २०१० मा आन्ध्र प्रदेशको विशाखापट्टनममा एक कम्पनीभित्र काम गर्ने क्रममा मृत्यु भएको थियो । २० सेप्टेम्बर २०१० मा मृत्यु भएपछि २१ सेप्टेम्बरमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम विवरणमा मृतकका बुवाको नाम तेजाराम हुनुपर्नेमा बलराम लेखिएपछि समस्या भएको छ ।

मृतकको बुवाको नामको गडबडीका कारण वर्षौंसम्म मृत्यु प्रमाणपत्र पाइएको छैन ।

सरकारी अधिकारीले त्रुटिको समाधान समेत निकालेका छैनन् । पीडित महिलाले गलत नाम लेख्ने विशाखापट्टनम अस्पतालका चिकित्सकमाथि कारवाहीको माग गरिरहेकी छन् ।