निजी कम्पनीको रेल आइपुगेसँगै तोडियो भारत सरकारको एकाधिकार

३१ भाद्र २०७८, बिहीबार १४:२१

काठमाडौं ।  नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ । आज पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो ।

भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर आज १० बजेट विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थालेको बताए ।

उनले सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी सुरु गरेको हो । सम्झौता भएको करिब दुई महिनापछि निजी कम्पनीले सञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको बताइएको छ ।

यसअघि, नेपाल र भारत सरकारबीच रेल सेवा सम्झौता भएको करिब १७ वर्षसम्म भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा यो सेवा दिँदै आएको थियो । नेपाल सरकार र भारत सरकारबीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो ।

भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउँदै आएको थियो । जुन, निजी क्षेत्रको प्रवेशसँगै तोडिएको हो । हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट उक्त सामान ल्याएको इन्टरमोडलले जानकारी दिएको छ ।