
काठमाडौं। चन्द्रागिरी हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरी केवलकार सञ्चालनमा आएको छ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्सरिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो ।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसके पनि चन्द्रागिरी हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिएका छनू। ‘आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चार जनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौँ,’उनले भने।
थानकोटदेखि चन्द्रागिरी सम्म केवलकारको दुरी साढे दुई किलोमिटर छ। गत वर्ष झण्डै ६ महिना बन्द रहेको केवलकार यो वर्ष झण्डै चार महिना बन्द रह्यो। काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरी मा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ।
