पशुपतिनाथमा अख्तियार, करिब ११ किलो सुन घोटाला भएको आशङ्का

२९ भाद्र २०७८, मंगलवार १४:२४

काठमाडौं । विगतमा राजाहरूले आफ्नो सम्बोधनको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे । भ्रष्टाचारीको मुख नहेर्ने घोषणा गरेका पूर्ववर्ती कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाँदा चाँदीको जलहरी हटाई सुनको जलहरी राख्ने निर्देशन दिए । तर, जलहरी सुनको बनाए पनि मन सफा नभएपछि यतिबेला पशुपतिनाथको मुटुमा रहेको जलहरीमा भ्रष्टाचारको गन्ध आएको छ ।

हिन्दूहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथमा अहिले अख्तियार पसेको छ । मन्दिरमा सुनको जलहरी बनाउँदा करिब ११ किलो सुन घोटाला भएको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो ।

पुरानो चाँदीको जलहरी हटाएर तयार गरिएको सुनको नयाँ जलहरी २०७७ फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

२०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्न जाँदा सुनको जलहरी राख्न निर्देशन दिएका थिए । त्यसपछि कोषले १०८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अगाडि बढाएको थियो ।