असोज पहिलो साताबाट अन्नपूर्ण आधारशिविर खुल्ने

२८ भाद्र २०७८, सोमबार १८:४६

काठमाडौं । कोरोनाले बन्द अन्नपूर्ण आधार शिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधार शिविर पदमार्ग खुल्ने भएको हो ।

विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधार शिविर क्षेत्रमा स्वास्थ्य मापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले बताए ।

“पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं”, उनले भने,“पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशङ्का लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ ।”

नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो । यहाँ आउनेलाई पर्याप्त सुविधा उपलब्ध गराउन पर्यटन पूर्वाधार विस्तार गर्न व्यवसायी सक्रिय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए ।

सो क्षेत्रका २६ होटलले पर्यटकलाई सेवा दिइरहेका छन् । अन्य १० होटेल थप्ने भनिएपनि कोरोनाले त्यो सम्भव भएन । चार दशक अघि उक्त आधार शिविर जाने पर्यटक त्यहाँका भेँडीगोठ र चित्रा÷भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो ।