एमालेले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित

२७ भाद्र २०७८, आईतवार १५:३३

काठमाडौं । एमालेको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेले अवरोधलाई निरन्तरता दिएपछि सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गरेका हुन् ।

सापकोटाले सहमति, सहकार्य र छलफलबाट सहमति निकाल्न आग्रह समेत गरेका छन् । उनले सहमतिको विकल्प नभएको बताउँदै गम्भीर हुन समेत दलका नेताहरुलाई आग्रह गरेका छन् ।

यसअघि आजै बसेको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा उनले सभाको अवरोध हटाउन छलफल समेत गरेका थिए ।

उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे पनि सहमति जुटेन । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाएर अवरोध गरे ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ ।