तेलको मूल्या वृद्धि गरी स्वदेशमा आपूर्ति घटाउँदै भारतमा निर्यात

२७ भाद्र २०७८, आईतवार ११:१२

काठमाडौं । गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटरमा १० देखि ३५ रुपैयाँसम्मले बढ्यो । करिब दुई साता चुप बसेका तेल व्यापारीले फेरि तेलको भाउ प्रतिलिटर १० रुपैयाँले वृद्धि हुनेगरी कार्टुनमा पुनः एक सय रुपैयाँले बढाए ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार साउन २३ देखि भदौ २१ सम्मको एक महिनामा तेलको मूल्य लिटरमा ४५ रुपैयाँ र कार्टुनमा ४५० रुपैयाँले बढेको छ । जसअनुसार दुई साता अघि प्रतिकार्टुन दुई हजार दुई सय रुपैयाँमा पाइने फेमिली, अमृत, सुनौलो किरण लगायत ब्राण्डका तेलको मूल्य दुई हजार तीन सय रुपैयाँ पुगेको छ ।

वाणिज्य विभागले गरेको एक अध्ययनअनुसार उद्योगीहरुले कार्टेलिङ गरेर तेलको कारोबार गरिरहेका छन् र त्यसको मारमा नेपाली उपभोक्ता परेका छन् ।

नेपालमा रहेका कुल २० वटा तेल उद्योगमध्ये १० वटाले नेपालको बजारमा न्युनतम् मात्रामा तेल पठाउने र बाँकी १० उद्योगले भारततर्फ मात्रै तेल निकासी गरेको विवरण वाणिज्य विभागलाई प्राप्त भएको एक अधिकारीले बताए ।

घरेलु कच्चा पदार्थमा आधारित स्वदेशी लगानीको उद्योगले न्युनतम् सामाजिक दायित्व समेत पूरा नगरी तेलमा नाफा कामाउने उद्देश्य राखेको विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन् । विभागलाई प्राप्त सूचना र विभागले तेल उद्योगसँग मागेको तेल उत्पादन र बिक्रीको विवरण अध्ययन भइरहेको पौडेलले जानकारी दिए ।

नेपालमा एक वर्षमा मूल्य दोब्बरले वृद्धि हुँदा भारततर्फ खाने तेलको निकासी भने अर्बौंको रहेको भन्सारको विवरणमा देखिएको छ । चालु आर्थिक वर्षको एक महिनामा मात्रै नेपालबाट भारततर्फ भटमास र सूर्यमुखी गरेर ९ अर्ब रुपैयाँ भन्दा बढीको तेल निर्यात भएको देखिएको छ ।

आर्थिक वर्षको पहिलो एक महिनामा ८ अर्ब ९८ करोड ६४ लाख २५ हजार रुपैयाँ बराबरको ४ करोड ४८ हजार ७०१ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ । यस्तै ७९ करोड १९ लाख २३ हजार रुपैयाँ बराबरको ४० लाख १६ हजार ३७४ लिटर सूर्यमुखी तेल पनि व्यापारीले भारतमा बेचेका छन् ।

खाने तेलको मूल्य एक वर्षमा कसरी दोब्बर भयो भन्ने पश्न गर्दा उद्योगीहरु सम्पर्कमा उद्योगीहरु तथा छाता संगठनका वर्तमान र पूर्व पदाधिकारीहरु सम्पर्कमा आएनन् ।