संखुवासभा हत्या प्रकरणः ५ दिन पछि पत्ता लाग्यो हत्यारा

२६ भाद्र २०७८, शनिबार २०:२९

काठमाडौं । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।

‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतले रातोपाटीसँग भने– ‘तर, आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको छ ।’ यद्यपि प्रहरीले आवेशमा आएर हत्या गरिएको भने पनि यो घटना आवेश प्रेरित हत्या हो कि मनासाय प्रेरित हत्या हो भन्ने खुलेको छैन ।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।

हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुई छोरा विदेशमा छन् ।

लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाइ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।