वडाध्यक्षले लात हानेर काठमाडौं महानगरपालिका कार्यालको ढोका तोडफोड

२५ भाद्र २०७८, शुक्रबार १४:४३

काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो ।

वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् । उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए ।

महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।

वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकारे । ‘दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि सहेर बसेको थिएँ, दुई महिनाअघि मैले नै माग गरेअनुसार एक जना इन्जिनियर पठाएका थिए,’ उनले भने,’अहिले एकाएक उहाँलाई अन्यत्रै सरुवा गराएछन्, त्यसबारे बुझ्न जाँदा कोही पनि जिम्मेवार ढंगले प्रस्तुत नभएकाले घटना भएको हो ।’

प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीलाई सोध्दा आफूलाई थाहा नभएको बताएको र प्रशासन विभागका कर्मचारीले भने माथिको आदेशअनुसार सरुवा गरिएको भनेर पन्छिएकाले आफू आक्रोशित हुन पुगेको उनले तबाए ।

‘राम्रो काम नगर्ने इन्जिनियर नभएर विकास निर्माणको काम राम्रोसँग गर्न पाएको छैन, राम्रो काम गर्ने इन्जिनियर दुई वर्ष नपुग्दै सल्लाहसमेत नगरी सरुवा गर्दा वडाबासीमाथि पनि अन्याय भयो,’ डंगोलले भने,’त्यही भएर ढोकामा लात हानेर फर्किएँ ।’