
काठमाडौं । साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन् ।’
प्रिन्स फैसलले भने, ‘साउदी अरब आशा गर्छ कि अफगानिस्तानको कार्यवाहक सरकार सही दिशामा काम गर्नेछ र मानिसहरुलाई हिंसा, अतिवादको मुक्ति दिलाउनेछ ।’
उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने बताएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार प्रिन्स फैसलले उनको मुलुक अफगान जनताको मद्दत गर्न जारी राख्ने बताएका छन् ।
साउदी अरबका विदेशमन्त्रीले आफूहरुले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्ने बताएका छन् ।
साउदी अरबका विदेशमन्त्रीले भने, ‘यो मुश्किल समयमा हामी अफगानिस्तानका जनताको साथमा छौं । साउदी अरब अफगानिस्तानलाई संकटबाट निकाल्न हर सम्भव मद्दत गर्नेछ । ’
प्रिन्स फैसलले यो बयान अफगानिस्तानमाथि आयोजित एक भर्चुअल बैठकमा बताएका हुन् ।
तालिबानले मंगलबार अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेका थिए । यो सरकारमा मुल्ला मोहम्मद हसन अखुंदलाई प्रधानमन्त्री र अब्दुल गनी बरादरलाई उप–प्रधानमन्त्री बनाइएको छ ।
