नगद र सुनचाँदी गरी २० लाख रुपैयाँभन्दा बढीको सामान लुटपाट

२२ भाद्र २०७८, मंगलवार १३:४७


काठमाडौं । रौतहटको मत्सरीमा डाँका समूहले लाखौं मूल्य बराबरको सम्पत्ति लुटपाट गरेको छ ।

दुर्गा भगवती गाँउपालिका–३ मत्सरीमा स्थानीय सरोजानन्द झाको घरमा गएराति पसेको नकाबधारी डाँका समूहले कोठाको दराज र बाकस फुटाएर नगद र सुनचाँदी गरी २० लाख रुपैयाँभन्दा बढीको सामान लुटेर लगेको प्रहरीले जनाएको छ ।

राति २ बजेको समयमा हतियारसहित घरमा आएको नकाबधारी समूहले बालकलाई बन्दुक तेर्साएर घरका परिवारजनलाई नियन्त्रणमा लिएर लुटपाट गरेको झाले बताए ।

घण्टौंसम्म घरमा रहेर लुटपाट गरेर डाँका समूह जाँदा पनि प्रहरीले सक्रियता नदेखाएको स्थानीयले आरोप लगाएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चिमरिया घटनास्थल पुगेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।