
काठमाडौं । मिस नेपाल युएस’ले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको कम्पनीको दावी छ ।
सन् २०१७ को अक्टोबरमा आवेदन दिइएपनि अहिलेमात्र मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।
सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।
यस अगाडि मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिएपनि मिस युसएएले दावी गरेका कारण उक्त प्रयास सफल हुन सकेको थिएन । तर पछि मिस युएसएले ए अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि सहमति दिएको थियो । त्यसपछि सन् २०१२ को फरबरीमा मिस नेपाल युएसमात्र रहने गरी ट्रेडमार्क दर्ताको प्रयास भएपनि सफल हुन सकेन ।
सन् २०१७ को जुनमा मिस नेपाल युएबाट फुटेर गएको एउटा टिमले ड्रिम युनिभर्सल एलएलसीका तर्फबाट ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । तर सफल हुन सकेन ।
त्यसपछि उक्त टिमले सन् २०१८ मा मिस नेपाल नर्थ अमेरिकाका रुपमा ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । उक्त प्रयास पनि सफल हुन सकेन । बरु मे ३१ मा मिस नेपाल नर्थ अमेरिकाका नाममा खारेजी पत्र जारी भएको थियो ।
त्यसपछि पनि सन् २०१९ र २०२१ मा मिस नेपाल नर्थ अमेरिका प्रतियोगिता भने गरिएको थियो । अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिताका लागि मिस नेपाल एलएलसीले मिस नेपाल युएसको ट्रेडमार्क प्राप्त गर्न सफल भएकोमा यसका संस्थापक अमित शाहले खुशी व्यक्त गरेका छन् । साथै १० बर्ष लामो आफ्नो प्रयास सफल भएको समेत उनले बताएका छन् ।
मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोहका साथ मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सक्नेछन् । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ सम्म रहेको छ ।
नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको, मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको छ ।
