तनहुँका स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

२१ भाद्र २०७८, सोमबार १२:२४

काठमाडौं । गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो ।

जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गराएका छन् । देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो भने अन्य स्थानीय तहले केही दिन अगाडिबाट विद्यालय खुलाएका थिए ।

व्यासले गत सातादेखि विद्यालय सञ्चालन गरेको थियो । शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले सम्भव भएसम्म वैकल्पिक विधिअनुसार अनलाइन कक्षा सञ्चालन गर्न र अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएमा १०० भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित २ बजेसम्म प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए ।