
काठमाडौं ।
बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।
गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
नासों गाउँपालिका(१ ताल गाउँस्थित भानु मावि, नासों(६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ ।
जिल्लाका नमूना विद्यालयका रुपमा रहेका लोकप्रिय माध्यामिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए ।
चार मात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिराले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको रेग्मीले जानकारी दिए ।
