
काठमाडौं । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन्।
सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन्। डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने ‘बस चालक’ को रुपमा उनले आफूलाई उभ्याउन सफल भएकी हुन्।
डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन। सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ। सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। त्यसपछि मात्र ठूलो गाडी अर्थात् बसको अनुमति पत्र लिनको लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुन्छ।
डेनिस भाषा सिकी, भाषा परीक्षा पनि उत्तीर्ण भैसकेपछि बस चालक अनुमति पत्रको कोर्स उत्तीर्ण गरेर स्थानीय सडकहरुमा बस चलाउन सक्षम भएपछि मात्र बस चलाउने अनुमति पत्र प्राप्त हुन्छ। यी सबै खुड्किला पार गर्दै सपना डेनमार्कको नेपाली समुदायमा पहिलो नेपाली महिला बस चालक बन्न सफल भइन्।
