सडकमै शिशु जन्माएकी बेवारिसे महिलाको उद्धार

१८ भाद्र २०७८, शुक्रबार १४:२३


काठमाडौं । सप्तरीमा एक महिलाले बेवारिसे अवस्थामा शिशुलाई जन्म दिएको ५ दिनपछि स्थानीयको समन्वयमा मानव सेवा आश्रमले उद्धार गरेको छ ।

शम्भुनाथ नगरपालिका–३ मा जन्माष्टमीको दिन मानसिक सन्तुलन गुमाएकी र बोल्न समेत नसक्ने ३५ वर्षीय महिलाले सडकमै शिशु जन्माएकी थिइन् ।

शिशु जन्माएको ५ दिनसम्म सडकमै बिताएकी महिलाको उद्धार गरिएको आश्रमका प्रतिनिधि निरज पटेलले रातोपाटीलाई जानकारी दिए ।

महिला र शिशुलाई शम्भुनाथ मन्दिरको प्राङ्गणबाट उद्धार गरि मानव सेवा आश्रममा राखिएको छ ।

सप्तरी राजविराजबाट ती महिला मानसिक र शारीरिक रुपमा निकै कमजोर रहेकी र बोल्न नसक्दा उनले आफ्नो नाम र थर वतन समेत बताउन नसक्ने अवस्थामा रहेको पटेलले बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको समन्वयमा उद्धार गरिएको आमा र बच्चालाई एम्बुलेन्समा राखेर मानव सेवा आश्रम सर्लाहीको हरिवन शाखामा पठाइएको निरज पटेलले बताए ।