भाषा आयोगले दुरा र लुङखिम भाषामा कक्षा सञ्चालन गर्ने

१८ भाद्र २०७८, शुक्रबार १३:०८

काठमाडौं ।
भाषा आयोगले यो वर्षदेखि लमजुङमा दुरा भाषा र इलाममा लुङखिम भाषामा कक्षा सञ्चालन गर्ने भएको छ । भाषा कक्षाका लागि पुस्तक तयार भइसकेको आयोगको सूचना अधिकारी डा. लोकबहादुर लोप्चनले जानकारी दिए ।

उनले भने ‘अब मंसिरबाट थप दुई भाषाको कक्षा शुरु गर्छौं । त्यसका लागि किताब तयार भइसकेको छ ।’ भाषा आयोगले मातृभाषा संरक्षण एवं प्रवद्र्घनका लागि भाषा कक्षा (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका २०७५ तयार गरी भाषा कक्षा सञ्चालन गर्दै आएको छ ।

लमजुङको दुराडाँडा र आसपास प्रमुख बसोबास क्षेत्र भएको दूरा जातिको मातृभाषा बोल्न सक्ने एकजना मात्र छन् मुक्तिनाथ घिमिरे । भाषा अध्येता घिमिरेका अनुसार लमजुङ, तनहुँ, कास्की, चितवन र गुल्मीमा गरी दुरा जातिको जनसंख्या करीब १० हजार छन् तर दुरा जातिका कसैले पनि मातृभाषा बोल्न जान्दैनन् ।

राईभित्र लुङखिम भाषा बोल्ने जम्मा ९ जना मात्र छन । इलामको सूर्योदय नगरपालिका–१० आहालेमा मुख्य बसोबास गर्ने यो समुदायको जम्मा जनसंख्या करीब २०० रहेका छन् ।