अमेरिकामा समुद्री आँधीमा कम्तीमा ४६ जनाको मृत्यु, न्युयोर्कमा ३ नेपालीको मृत्यु

१८ भाद्र २०७८, शुक्रबार १२:१८

काठमाडौं ।

समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्युजर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गभर्नर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढीमा परेका थिए ।

अधिकारीहरुले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

आँधीपछि आएको भारी वर्षाका कारण पूर्वी राज्यहरु कनेन्टिकट, मेरिल्यान्ड, न्यू जर्सी, न्युयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ ।


न्युयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु

अमेरिकाको न्युयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–२ जुनबेँसी स्थायी घर भई हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।