कास्कीमा सभा गोष्ठी गर्न पाइने, जोरबिजोर प्रणाली हट्यो

१८ भाद्र २०७८, शुक्रबार ११:०९

काठमाडौं ।

कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ ।
यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मका लागि लम्ब्याएको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा जोरबिजोर प्रणाली हटे पनि स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र तोकिएको मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै नगरी नहुने सरकारी, तथा निजी, गैर सरकारी संस्थाहरुले गोष्ठी, तालिम, सेमिनार तथा प्रयोगात्मक परीक्षा जस्ता कार्यक्रमहरु प्रशासनलाई जानकारी गराएर बढीमा २५ जना सहभागी भएर कार्यक्रम गर्न सक्नेछन् ।

तर, सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, रंगशाला, फुटपाथ पसल भने खोल्न नपाइने यसअघिको नियमलाई निरन्तरता दिइएको छ ।