रुकुम पूर्वमा विद्यालयमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन

१७ भाद्र २०७८, बिहीबार १२:२५

काठमाडौं ।

रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि विद्यार्थीहरु विद्यालयमा पुगेर पढ्न पाएका छन् ।

जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यार्थीका लागि कक्षा कोठामा प्रवेश गर्नुभन्दा पहिले नजिकै टेबुलमा साबुन पानी, सेनिटाइजरको व्यवस्था छ । कक्षा कोठामा सबैले मास्क लगाएर पढ्ने गर्दछन् । कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा शर्माले विद्यालयमा पठन पाठन सुरु भएपछि सजिलो भएको बताइन् ।

इन्टरनेट टेलिभिजनको पहुँचमा रहेका विद्यार्थीहरुले यस बीचमा वैकल्पिक माध्यमबाट पढ्न पाए पनि रुकुम पूर्वजस्तो दुर्गममा रहेका जिल्लाका विद्यार्थीहरु पढाइबाट पूर्ण रुपमा बञ्चित थिए ।

वैकल्पिक माध्यमबाट पढ्न नपाएका विद्यार्थीहरु भौतिक उपस्थितिमै पठन पाठन सुरु भएपछि उत्साहित देखिएका छन् । विद्यालय बन्द रहँदा घरको काममै व्यस्त हुने गरेका भूमे गाउँपालिका ५ का राजेश श्रेष्ठ पनि दैनिक विद्यालय जान थालेका छन् ।