वर्षाले हातीवनमा किनिन् अपार्टमेन्ट, मूल्य कति ?

१७ भाद्र २०७८, बिहीबार १२:०५

काडमाडौं ।

नायिका वर्षा सिवाकोटीले महंगो रकममा हातीवनमा अपार्टमेन्ट खरिद गरेकी छिन् । अनलाइनखबरलाई वर्षाले दिएको जानकारी अनुसार, हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् । वर्षाका अनुसार, अपार्टमेन्टको मुल्य साढे २ करोड परेको छ । उनले भनिन्–‘आमाको सहयोगमा मैले यो अपार्टमेन्ट खरिद गरेकी हुँ । अब, यो अपार्टमेन्टमा ममी र म बस्छौं ।’

वर्षाले आजै पूजा गरेर अपार्टमेन्टको बसाई सुरु गरेको समेत जानकारी दिइन् । सितापाइलामा संयुक्त परिवारमा रहँदै आएकी वर्षा विगत एक बर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् ।

अब भने आफू र ममी मात्र अपार्टमेन्टमा रहने उनको भनाई छ । वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन् । वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन् ।