चितवनको ‘पटिहानी रिसोर्ट’मा एक अर्ब लगानी

१६ भाद्र २०७८, बुधबार १६:१४


काठमाडौं ।
पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ ।

भरतपुर महानगरपालिका २२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ ।
रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो । हालसम्म रु ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा रु एक अर्ब हाराहानी खर्च हुने बताए।

रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन् । यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको उनले जानकारी दिए ।

“सुरक्षा र सुविधासम्पन्न यी भिल्लामा अत्याधुनिक सुविधा रहेको छ,” उनले भने ।

एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको निर्देशक न्यौपानेले जानकारी दिए ।

रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् । रेष्टुरेन्टमा ५०० ले एकपटक बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ ।

होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ भने पौडीपोखरी, क्यासिनो र होटलको बीचमा रहेको छ ।
बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्था गरिएको छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने जनाइएको छ ।