सेयर बजार १० अर्ब रुपैयाँभन्दा तल झर्यो

१६ भाद्र २०७८, बुधबार १५:४८


काठमाडौं।
सेयर बजार कारोबार १० अर्ब रुपैयाँभन्दा कममा आएको छ। दिनभरीमा २२६ कम्पनीको सेयर किनबेच हुँदा कुल ९ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

सुरुवातमा बजार खुल्दा ३०११ अंकसम्म सूचक पुगेको थियो। त्यसपछि क्रमश घटेर २९६१ अंकसम्म बजार खुम्चिएको थियो। फेरि बजार उक्लिएर ३०१८ अंकसम्म पुगेको थियो। त्यसपछि घट्दै घट्दै बजार २९६९ सम्म आएको थियो। अन्तमा कारोबार बन्द हुनेबेलामा १।१४ अंकले बढेको छ।

सूचक २९७६।९८ अंकमा उक्लिएको छ। बजारलाई वाणिज्य बैंक र बीमा कम्पनीले जेनतेन धान्न खोजेका थिए। त्यसमा होटल तथा पर्यटन क्षेत्र पनि थपिएको थियो। तर विकास बैंक, लघुवित्त, अन्य, निर्जीवन बीमा कम्पनीले बजारलाई धेरै धान्न सकेन। वाणिज्य बैंक समूहमा करिब ८ अंकले सुधार हुँदा बजार थोरै बढेर बन्द भएको हो।

बजारमा रुरु हाइड्रो, ओरेन्टल होटलको सेयर मूल्य बढेको छ। घट्नेमा सनराइज फर्स्ट म्युचुअल फण्ड, खानीखोला लगायतका कम्पनी छन्।

बजारमा सर्वाधिक कारोबार अरुण भ्यालीको भएको छ भने युनाइटेड मोदीको दोस्रो नम्बरमा भएको छ । अरुण भ्यालीको ६० करोड रुपैयाँ हाराहारीको कारोबार हुँदा युनाइटेडको ३० करोडको भएको छ।