दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन सुरु

१६ भाद्र २०७८, बुधबार ११:०६

 

काठमाडौं ।

काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ।

काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ।

सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ ।

साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ ।

यो सहमतिसँगै आजदेखि उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको छ ।

करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइसकिने छ ।

अब चाँडौ जोरपाटी बौद्ध, चाबहिल लगायत उपत्यकाको विभिन्न स्थानमा थुप्रिएको फोहोर हट्ने भएको छ ।