प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी

१५ भाद्र २०७८, मंगलवार १५:२१

काठमाडौं ।
नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो ।

प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी हुने रातोपाटीलाई बताए । उनले भने, ‘बुधबार वा बिहीबारसम्ममा हाम्रो पार्टीमा सामेल हुने सांसदहरुको सनाखत कार्य सम्पन्न हुनेछ । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका विषयमा छलफल हुन्छ ।’