पौडेल निवासमा इतर पक्षीय नेताहरुको बैठक: नेपाली काँग्रेस

१५ भाद्र २०७८, मंगलवार १४:१७

काठमाडौं ।

नेपाली काँग्रेसका  रामचन्द्र पौडेल निवास बोहराटारमा इतर पक्षीय नेताहरुको बैठक बसिरहेको छ ।

बैठकमा १४ औं महाधिवेशनमा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुबीच सहमति जुटाउने प्रयास हुनेछ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसभित्र सभापतिका आकांक्षी एक दर्जनको हाराहारीमा रहेका छन् भने त्यसमा पनि इतर पक्षमा सबैभन्दा धेरै रहेका छन् ।

सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् । उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् ।

काँग्रेस नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले शीर्ष नेताहरुबीचको बैठक बसिरहेको पुष्टि गर्दै महाधिवेशन र सभापतिको साझा उम्मेदवार तय गर्नेबारे छलफलको एजेण्डा रहेको बताए ।

बैठकमा पौडेलसहित सभापतिका दाबेदार नेताहरु र अर्का नेता बलबहादुर केसी समेत सहभागी छन् ।