१० चिहान उत्खनन्को तयारी

१५ भाद्र २०७८, मंगलवार १३:४०

काठमाडौं ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले पहिलो चरणमा १० स्थानमा चिहान उत्खननको तयारी गरेको छ। त्यसका लागि फरेन्सिक मेडिसिन एक्सपर्ट, डेन्टल एक्सपर्ट, ल्याप एक्सपर्टसहितको टोली परिचालन हुँदैछ।

पहिलो चरणमा गोरखा, रोल्पा, सिराहा, कैलाली, बाजुरा, दाङमा शव उत्खनन गर्नका लागि चिहान पहिचान गर्न टोली त्यसतर्फ प्रस्थान गर्ने तयारी गरेको छ। बाँकी तीन जिल्ला छनोट हुन बाँकी रहेको आयोग स्रोतले जानकारी दियो।

प्रारम्भिक रुपमा उजुरीकर्ता, साक्षीको बयानका आधारमा ती स्थानमा चिहानस्थल पहिचानका लागि आज (मंगलवार) देखि नै आयोगको टोली परिचालन भएको छ।

‘यी चिहान व्यक्तिका हुन् । अहिले आयोगले सामुहिक चिहानको उत्खनन गर्ने तयारी गरेको छैन,’ स्रोतले भन्यो, ‘सामुहिक चिहानहरु ब्यारेकहरु र त्यस आसपासमा हुन्। त्यसका लागि प्रक्रिया अलि जटिल हुन्छ । सेनाको सहमति र संलग्नता पनि आवश्यक पर्छ। त्यसलाई हामीले पछाडि गर्छौँ।’

शव उत्खननपछि सनाखत आयोगका अध्यक्षको अध्यक्षतामा विधिविज्ञान विज्ञ, प्रयोगशाला विज्ञसहितको समितिले गर्नेछ। समितिले उजुरीका आधारमा सम्बन्धित परिवारबाट डीएनए स्याम्पल लिइ उत्खनन् गरिएको शवसँग म्याच गरी सनाखत गर्नेछ।

सनाखत भइसकेपछि सम्बन्धित परिवारलाई अस्थिपञ्जर दाहसंस्कारका लागि उपलब्ध गराइनेछ।