
काठमाडौं ।
यो वर्ष २०७८ सालको दुई महिनामै ९ अर्ब ३७ करोड रुपैयाँको सुन भित्रिएको छ । निषेधाज्ञाले जेठमा सुन आएको थिएन भने वैशाखमा व्यवसायीले चाहे जति सुन ल्याउन पाएका थिएनन् ।
तर, वैशाखदेखि लागेको निषेधाज्ञा खुले लगत्तै व्यवसायीले चाडपर्वलाई लक्षित गरेर धमाधम सुन ल्याउन सुरु गरेका हुन् ।
अहिले बजारमा उल्लेख्य माग नहुँदा पनि व्यवसायीले सुनको अर्डर दिन छाडेका छैनन् ।
खासगरी, यही भदौको अन्तिममा रहेको हरितालिका तीज, दसैँ र तिहार र त्यस लगत्तै सुरु हुने बिहेको सिजनलाई लक्षित गरेर व्यवसायीले धमाधम सुन स्टक राख्न थालेसँगै सुनको आयात बढेको देखिएको छ ।
भन्सार विभागका अनुसार असार महिनामा सबैभन्दा धेरै ६ अर्ब २१ करोड रुपैयाँ बराबरको ९ लाख ६ हजार ग्राम सुन आयात भएको थियो । यस्तै, साउन महिनामा ४ लाख ५८ हजार रुपैयाँ बराबरको ३ अर्ब १६ करोडको सुन भित्रिएको भन्सारको तथ्याङ्कले देखाउँछ ।
सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले चाडपर्व लक्षित सुन ल्याउन थालिएको जानकारी दिए । उनले बजारमा अहिले खपत नभए पनि अर्डर बढिरहेको बताए ।
सोही कारण, सुन व्यवसायीहरूले असार र साउन महिनामा आफूलाई चाहिनेभन्दा बढी सुन थुपारेका हुन् ।
अध्यक्ष शाक्यले कोभिडको रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण आवश्यकताअनुसारको सुन नआउँदा व्यवसायीले यसअघि राखेको सुन स्टक सकिसकेको बताए ।
